विश्व

इरानले गरेको रकेट आक्रमणका कारण ५० अमेरिकी सैनिकको मस्तिष्कमा समस्या

ईराकस्थित अमेरिकी सैन्य अड्डामा इरानले केही दिनअघि गरेको रकेट आक्रमणमा परी ५० जना अमेरिकी सैनिकहरूको मस्तिष्कमा चोटपटक लागेको पेन्टागनले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणमा कुनै पनि अमेरिकी हताहती नभएको बताएका थिए तर पेन्टागनको दाबीले उनको भनाइलाई काटेको छ ।

त्यतिखेर ट्रम्पले सैनिकहरूलाई टाउको दुखेको र कुनै गम्भीर चोटपटक नलागेको बताएका थिए ।

आक्रमणको भोलिपल्टै अमेरिकी सेनाले ११ जना सैनिक घाइते भएको जनाएको थियो । अघिल्लो साता पेन्टागनले ३४ सैनिक घाइते भएको जानकारी दिएको थियो ।

पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल टमस क्याम्पबेलले मंगलवार थप १६ सैनिकहरूलाई आघातपूर्ण मस्तिष्क समस्या देखिएको बताए । ती ५० मध्ये ३१ जना ड्युटीमा फर्किसकेको क्याम्पबेलको भनाइ छ ।

ती सैनिकहरूलाई इराकमा अनि कुवेतमा रहेका अस्पतालहरूमा उपचार गरिएको छ ।

जनवरी ३ मा इरानका शक्तिशाली जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोनले मारेपछि जवाफी कारवाहीका रूपमा इरानले इराकस्थित ऐन अल–असद सन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

मस्तिष्कमा लागेको चोटपटकका बारेमा आक्रमणलगत्तै खबर नगरिएको र केही सैनिकमा चाहिँ निकै पछि मात्र लक्षण देखिएको अमेरिकी सेनाको भनाइ छ ।

इरानका लगभग एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्रहरू विस्फोट हुँदा धेरै सैनिक बंकरमा थिए ।

Leave a Comment

//zuphaims.com/afu.php?zoneid=3027341